रसुवा बाढी: ७३४ जनाको शव फेला, २७ सय जनाको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूमध्ये ७ सय ३४ जनाको शव फेला परेको छ ।
प्रहरीले सार्वजनिक गरेको बिहान ८ बजेसम्मको पछिल्लो तथ्यांक अनुसार बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको हो ।
शव फेला परेका जिल्लाहरूमा सबैभन्दा बढी चितवनमा २५९ जना रहेका छन् । त्यसैगरी नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म जम्मा २ हजार ६९९ जनाको घाइते तथा सफल उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूमध्ये नुवाकोटबाट २ हजार २० जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन् । यसका साथै काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका र उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १६० पुगेको छ ।
विपद्को यस घडीमा उद्धार र राहत कार्यका लागि नेपाल प्रहरीले ७ हजार २९३ जना जनशक्ति परिचालन गरेको छ ।
यद्यपि, उद्धारकै क्रममा खटिएका २५ जना प्रहरी कर्मचारीहरू अझैसम्म सम्पर्कविहीन रहेका छन् ।
हराइरहेकाहरूको खोजी कार्य र प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिइएको प्रहरीले जानकारी दिएको छ ।

