अति प्रभावित ‘विपद् संकटग्रस्त’ १५ पालिकाको नाम राजपत्रमा
काठमाडौं । सरकारले ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित भएको छ । रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारले यसअघि रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो।
विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेका छन् ।
नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन् ।
यसैगरी धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद् संकटग्रस्त घोषणा गरिएको छ । तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका रहेका छन् ।
विपद् संटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सरकारलाई सहज हुनेछ ।
नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाको छ । हाल उद्धारको कार्य भइरहेको छ ।


