एलआईसी नेपालको ‘जीवन बचत’ योजना सार्वजनिक |
काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमा शुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा एक समारोहका बिच आज (मंगलबार) उक्त ‘जीवन बचत’ योजना सार्वजनिक गरेको हो । सार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले गरेका हुन् ।
१६ देखि ६५ वर्ष उमेर समूहसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ ।
न्युन बीमा शुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ समेत उपलब्ध छ । बीमा शुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने कम्पनी सचिव विनोदकुमार भुजेलको भनाई छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमा शुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए ।
त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नया“ बीमा योजनाको बारेमा प्रकाश पारे । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।


