भोटेकोशी बाढीप्रति नाडाको दुःख: क्षति मूल्यांकन गर्न र नाका सहज बनाउन सरकारसँग आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशुलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ ।
बाढीबाट प्रभावित सम्पूर्ण नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति नाडाले हार्दिक सहानुभूति व्यक्त गरेको छ ।
नाडाले बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरेको प्रति सरकारको प्रशंसा समेत गरेको छ ।
‘रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो। नाडामा आवद्ध सदस्य तथा अटोमोवाइल व्यवसायीहरुका सामान तथा सवारीसाधनहरु पनि भन्सारमा रहको यकिन तथ्यांक आइसकेको छैन ।’ नाडाले भन्यो, ‘तर, त्यहाँ ठूलो क्षती पुर्याएको अवस्था छ । यस विपदको घडीमा सबै ब्यवसायीहरुको साथमा नाडा रहेको छ ।’
नाडाले यस क्षेत्रमा रहेका सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुग्दा त्यसको प्रत्यक्ष प्रभाव सवारीसाधन आयात तथा समग्र आपूर्ति व्यवस्थामा पर्न सक्ने भएकाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेको छ ।
नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गर्न, सुरक्षित रूपमा आवागमन सञ्चालन गर्ने वातावरण बनाउन तथा रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिक रुपमा सहज बनाउँदै जानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडाले सरकारसँग अनुरोध गरेको छ ।
क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखी सरल र छिटो बनाइनुपर्ने नाडाको धारणा छ।
नाडाले विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रसँग आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न नाडा तयार रहेको सरोकारवाला सबैमा जानकारी गराएको छ ।
नाडाले यस प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ ।


