मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, टाटाका गाडी किन्न ७० प्रतिशतसम्म कर्जा
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा लगानी गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङका आधिकारिक डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्ना १७६ वटै शाखा कार्यालयबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ।
बैंकका अनुसार टाटाका विद्युतीय सवारीसाधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म तथा आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराइनेछ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यमका लागि प्रयोग हुने व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच प्राप्त हुने बैंकको अपेक्षा छ। साथै, यसबाट ग्राहकलाई व्यवसाय विस्तार गर्न थप सहयोग पुग्ने जनाइएको छ।
मुक्तिनाथ विकास बैंकले पछिल्लो समय अटो कर्जा, कृषि कर्जा तथा लघु तथा मझौला उद्यम (एसएमई) कर्जालाई प्राथमिकतामा राख्दै विभिन्न कर्जा योजना सञ्चालन गर्दै आएको छ।
बैंकले अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको जनाएको छ। बैंकका अनुसार नयाँ सम्झौताले टाटा ब्रान्डका व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउन सहयोग पुग्नेछ।


