नेपाल लाइफको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ देखि २ गतेसम्म ‘लिड, एस्पायर, इभोल्भ’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रवीण प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको बलियो पहिचान स्थापित गरेको बताए।
उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आम्दानी संकलन गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे। उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि उच्च लक्ष्य निर्धारण गरी एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
अग्रवालले हाल हासिल भएको व्यावसायिक उचाइलाई निरन्तर कायम राख्न कर्मचारी तथा व्यवस्थापनको संयुक्त प्रयास, मेहनत र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए। उनले चालु आर्थिक वर्ष २०८३/८४ का व्यावसायिक लक्ष्य हासिल गर्न सुरुदेखि नै थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे।
पराजुलीले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि तय गरिएका सेल्स तथा रणनीतिक योजनाबारे सम्मेलनमा जानकारी गराएका थिए। उनले प्राप्त उपलब्धिलाई कायम राख्दै कम्पनीलाई थप उचाइमा पुर्याउन सामूहिक मेहनत, सहकार्य र निरन्तर प्रतिबद्धता आवश्यक रहेको बताए।
सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नेसनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले आ–आफ्नो विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए।
प्रस्तुतीकरणका क्रममा गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका लागि अपनाइने कार्यदिशाबारे जानकारी गराइएको थियो।
सम्मेलनको समापनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल र नेसनल सेल्स हेड उमापति पोखरेल तथा मानव संसाधन विभागका तर्फबाट सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी, शाखा तथा उपशाखालाई विभिन्न १४ विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कम्पनीका अनुसार सम्मेलनले नेपाल लाइफसँग आबद्ध कर्मचारीमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता बढाउनुका साथै आगामी दिनमा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।


