नाटामा राम्रो गर्न सुनौलो अवसर आएको छ : अध्यक्ष भरतजंग पाण्डे
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डे नयाँ सोच र नयाँ कार्यशैलीसहित संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन्।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भाषण गर्ने मात्रै नभई सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी आएको बताए । ‘निर्वाचित हुनु भनेको पुन: नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्न सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’
पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो। न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड। न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो।
पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए।
निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे। ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे।
संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे।
‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन। पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो ।
नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ । यही सोचका साथ उनी निर्वाचनमा होमिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन्। ‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय शुरू भएको छ। निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे भन्छन् ।
उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो ।
पाण्डेको अनुसार नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो।
अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई जीवन्त राख्नेछ ।
निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे। नाटाको ५९ औँ शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।

