एशियन लाइफ इन्स्योरेन्सको नाफा साढे ४१ करोड नाघ्यो, प्रमुख वित्तीय सूचकहरू सबल
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको हो ।
कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतको बढेर ४१ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो ।
यता कम्पनीको जीवन बीमाकोष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँबाट ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.४८ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ९ अर्ब २० करोड २९ लाख रुपैयाँ रहेको थियो ।
बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि ८.६३ प्रतिशतले वृद्धि भई १४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ४९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँमा रहेको छ । महाविपत्ति कोष १४.४१ प्रतिशतले वृद्धि भई ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यद्यपि कम्पनीको जगेडा कोषमा भने अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतको गिरावट आएर ५२ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.८० रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १२०.१३ रुपैयाँ रहेको छ ।


