सानिमा जीआईसी इन्स्योरेन्सको व्यापारमा छलाङ, बीमा कोष र पूँजी आधार बलियो
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा आफ्नो बलियो पहिचान बनाएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय सूचकहरूमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको चुक्ता पूँजी, बीमा कोष र खुद बीमा शुल्क आर्जन जस्ता सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ ।
कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १५ करोड रुपैयाँ मात्र थियो । कम्पनीको बीमा कोष ६.२७ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो कोष ४ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो वर्षको ७६ करोड ४२ लाख रुपैयाँको तुलनामा ९ प्रतिशतको उत्साहजनक वृद्धि हो । यस्तै कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।


