सञ्चय कोषको अनलाइन सेवाले कोष कार्यालयमा सेवाग्राहीको चाप घट्यो
सुर्खेत । कुनै समय सेवाग्राहीको भीडले भरिभराउ हुने कर्मचारी सञ्चय कोषको सुर्खेत शाखामा अहिले भने दृश्य फेरिएको छ । विहिबार दिउँसो करिब १ बजे कार्यालय पुग्दा कोष परिसर खाली खाली देखिन्थ्यो । कोषकट्टी रकम भुक्तानी लिनका लागि केही सेवाग्राही मात्र काउन्टरमा देखिन्थे । सञ्चयकर्ताका लागि छुट्याइएको कम्प्युटरमा एक जना सेवाग्राही भौचर इन्ट्रीको प्रतीक्षामा थिए भने कोषका कर्मचारीहरु कम्प्युटरमार्फत सेवा प्रवाहमा व्यस्त थिए । तर प्रतिक्षालयका अधिकांश कुर्सी खाली देखिन्थे ।
कार्यालयका अनुसार यस्तो अवस्था विहिबार मात्र नभई अधिकांश दिन देखिने गरेको छ । कोषका सेवाहरु डिजिटल माध्यमबाट उपलब्ध हुन थालेपछि कार्यालयमा प्रत्यक्ष आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा घटेको हो ।
कोषका अनुसार कोभिड–१९ महामारीका बेला २०७७ जेठदेखि अनलाइन सापटी सेवा सुरु गरिएको थियो । त्यसयता कोषले आफ्ना अधिकांश सेवालाई क्रमशः डिजिटल प्रणालीबाट प्रवाह गर्दै आएको छ ।
हाल कोषको वेबसाइट र मोबाइल एपमार्फत खाता खोल्ने, केवाइसी अद्यावधिक गर्ने, फाँटवारी इन्ट्री गर्ने, स्टेटमेन्ट हेर्ने तथा सापटी लिने सुविधा उपलब्ध छ । साथै आफ्नो फाइल स्वीकृत भयो किभएन वा कुन अवस्थामा छ भन्ने कुरा समेत अनलाईनबाट ट्रयाक गर्न सकिन्छ । यसले सञ्चयकर्तालाई कार्यालयमा उपस्थित नभई घर वा कार्यस्थलबाटै सेवा लिन सहज बनाएको छ ।
यद्यपि घरजग्गा कर्जा तथा केही सामाजिक सुरक्षा सुविधा प्राप्त गर्न आवश्यक कागजातसहित कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था भने अझै कायम रहेको सेवाग्राहीको गुनासो छ । निमित्त कार्यालय प्रमुख राजेन्द्र विक्रम केसीका अनुसार सुत्केरी तथा शिशु स्याहार खर्च र स्वास्थ्य उपचार शोधभर्नाका लागि पनि सेवाग्राही स्वयं कार्यालय आउनै पर्ने बाध्यता छैन । फाराम भरी तोकिएका कागजात संलग्न गरेर कोषको कार्यालयमा पठाएपछि फाइल रुजु गरी स्वीकृति भएपछि रकम सिधै सञ्चयकर्ताको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । कोषलाई बुझाउनु पर्ने सापटी तथा व्याज रकम समेत सञ्चयकर्ताले कोषको एप¸ मोवाइल बैंकिङ एवं कनेक्ट-आइपिएस मार्फत बुझाइरहेको बताउँदै केसीले भने अघिल्लो आर्थिक वर्षदेखि अवकाशप्राप्त सञ्चयकर्ताको मुनाफा, ब्याज तथा छुट रकम पनि सिधै बैंक खातामा पठाउने व्यवस्था गरिएको छ ।
अनलाइन सुविधा विस्तार भए पनि केही सञ्चयकर्ता अझै पनि सापटीलगायतका सेवाका लागि कार्यालयमै उपस्थित हुने गरेका छन् । गत आर्थिक वर्षमा सुर्खेत शाखाले एक हजार ६०८ जना सञ्चयकर्तालाई भौतिक उपस्थितिमै कोष रकमको धितोमा विशेष सापटी उपलब्ध गराएको थियो । त्यसै अवधिमा कर्णाली प्रदेशका करिब १४ हजार सञ्चयकर्ताले भने कार्यालय नआई अनलाइनमार्फत आवेदन गरी आफ्नो बैंक खातामा सापटी रकम प्राप्त गरेका थिए ।
कोषले आफ्नै मोबाइल एप र वेबसाइटसँगै नागरिक एप तथा विभिन्न बैंकिङ एपमार्फत पनि सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको बताइन्छ । वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री सुविधा समेत समावेश गरिएको केसीले जानकारी दिए ।
आर्थिक वर्ष २०८१/८२ सम्म निवृत्तभरण कोषसहित कुल छ लाख ७४ हजार योगदानकर्ता आबद्ध थिए । सो अवधिसम्म ३७ हजार ५०० कार्यालयले कोषकट्टी रकम पठाउने गरेका थिए । चालु आर्थिक वर्षको पहिलो २० दिनमै थप ८४ संस्थाले कोषसँग सम्झौता गरी एक अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिसकेका छन् । उल्लेखनीय कुरा यो छ की¸ पछिल्लो तीन साताको अवधिमै ती कार्यालयका ११ हजारभन्दा बढी नयाँ योगदानकर्ताले कोषको कार्यालयमा नगई अनलाइनमार्फत केवाइसी अद्यावधिक गरी सञ्चय कोष नम्वर पाइसकेका छन् भने उनीहरुको कोषकट्टी समेत सुरु भइसकेको छ ।
कोषका अनुसार कोषको सूचना प्रविधि विभागले विकास गरेको डिजिटल प्रणालीको कारण छोटो समयमै हजारौं योगदानकर्तालाई कोषको कार्यालय नआई सहज र सुरक्षित रूपमा खाता खोल्न¸ फाँटवारी दाखिला गर्न र विभिन्न सेवा उपलव्ध गराउन सम्भव भएको हो ।

