हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. २१ करोड ६१ लाख ७० हजार को तुलनामा ८४.४५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ ।
आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब २२ करोड पुगेको छ, जसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ । कुल सम्पत्ति रु. ८ अर्ब ४३ करोड बाट बढेर रु. १२ अर्ब ६४ करोड पुगेको छ भने कुल स्वपुँजी (इक्विटी) रु. १ अर्ब ४९ करोड बाट बढेर रु. १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा शुद्ध ब्याज आम्दानी रु. २२ करोड १० लाख बाट बढेर रु. ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । त्यस्तै, सञ्चालन नाफा पनि रु. ३३ करोड ५२ लाख ८० हजार बाट बढेर रु. ६१ करोड ४६ लाख ८० हजार पुगेको छ ।
प्रमुख वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। वार्षिकीकृत स्वपुँजी प्रतिफल (Return on Equity) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ भने वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी (Basic Earnings Per Share) रु. २६.०४ बाट बढेर रु. ४८.०४ पुगेको छ । साथै, कम्पनीको कोषको लागत (Cost of Funds) ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ ।
ब्याजदर अन्तर (Interest Rate Spread) १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
हुलास फिनसर्भका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त हुनु तथा नेपालको वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसँग सम्बन्धित चुनौती कायम रहे पनि कम्पनीले व्यवसाय विस्तार, सञ्चालन दक्षता, सुदृढ जोखिम व्यवस्थापन तथा प्रभावकारी कर्जा असुली रणनीतिका कारण उल्लेखनीय वित्तीय उपलब्धि हासिल गर्न सफल भएको हो ।
कम्पनीले आगामी दिनमा दिगो रूपमा कर्जा पोर्टफोलियो विस्तार गर्दै सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तरता दिने जनाएको छ । साथै, दीर्घकालीन रूपमा आफ्ना सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

