ग्यास अभाव हटाउन एल.पी. ग्यास उद्योग संघको अपिल: मौज्दात हुनेले लाइन नबसिदिनू
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आमउपभोक्तालाई कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भए तत्काल ग्यासका लागि लाइनमा नबस्न आग्रह गरेकाे हाे ।
संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी अपिलमा पछिल्लो समय ग्यासको माग अत्यधिक बढ्दा विभिन्न स्थानमा उपभोक्ताले लामो लाइन बस्नुपर्ने र लाइन बसेर पनि ग्यास नपाउने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
संघका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिन्डर वितरण गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएपछि ग्यास आयात नियमित भएको र उपभोक्ताको मागअनुसार १४.२ केजीको पूर्ण सिलिन्डर वितरण पुनः नियमित गरिएको जनाएको छ ।
तर, पछिल्लो चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु तथा ग्यास अभाव हुने त्रासका कारण उपभोक्ताले एकैपटक सबै खाली सिलिन्डर भर्न खोज्दा बजारमा अभाव देखिएको संघको भनाइ छ ।
संघले बजार सहज बनाउन नेपाल आयल निगम, ग्यास उद्योग, बिक्रेता र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको जनाएको छ । कम्तीमा एक महिना पुग्ने ग्यास भएका उपभोक्ताले तत्काल लाइनमा नबस्ने, बिक्रेताले पारदर्शी रूपमा ग्यास वितरण गर्ने, उद्योगहरूले नियमित आपूर्ति सुनिश्चित गर्ने तथा नेपाल आयल निगमले बजार सहज नहुँदासम्म आवश्यकताभन्दा बढी ग्यास आयात गर्नुपर्ने सुझाव संघले दिएको छ ।


