ग्यासको कृत्रिम अभाव र चौतर्फी मूल्यवृद्धिप्रति उपभोक्ता मञ्चको आपत्ति
काठमाडौं । भारतबाट ग्यासको आयात र ढुवानी सहज रूपमा भइरहँदा पनि बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी बढाएको भन्दै उपभोक्ता मञ्च नेपालले गम्भीर आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै मञ्चका प्रवक्ता उज्वलराज गौतमले सर्वसाधारण नागरिक घण्टौँ लाइनमा बस्न बाध्य हुनुले बजारमा नाफाखोरी र कालाबजारी मौलाएको स्पष्ट हुने बताएका छन् । मञ्चले सञ्चितीकरण गर्ने र बढी मूल्यमा ग्यास बिक्री गर्ने बिचौलिया तथा व्यापारीमाथि कडा कारबाही गरी सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ ।
चाडपर्व र विपद्का बेला बजारमा चरम महँगी र अभाव सिर्जना हुँदासमेत नियमनकारी निकायहरू मूकदर्शक बनेको भन्दै मञ्चले आक्रोश व्यक्त गरेको छ। केही समययता वर्षात् र ढुवानीको बहाना बनाएर चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, मासु र अण्डा जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
बिना कुनै ठोस आधार गरिएको यो मूल्यवृद्धि तत्काल फिर्ता गराउन र बजार नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गर्न मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, बिजुली खपत र सवारी भाडामार्फत दोहोरो मारमा परेका सर्वसाधारणलाई तत्काल राहत र सहजीकरणका कदम चाल्न आग्रह गरिएको छ । उपभोक्ताको चुलो र जीवनस्तरसँग जोडिएका संवेदनशील विषयमा सरकारले अविलम्ब कदम नचाले हकहित रक्षाका लागि सशक्त विरोधका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत मञ्चले दिएको छ ।

