श्रावण १५ मा खिर खाएर नेपाली मौलिक संस्कृति संरक्षण गर्न नेपाल डेरी एसोसिएसनको आह्वान
काठमाडौं । खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले खिर दिवस मनाएको छ ।
साउन १५ गते मनाइने राष्ट्रिय खिर दिवसको पूर्वसन्ध्यामा एसोसिएसनले बुधबार खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले साउन १५ गते देशभर करिब एक अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने जानकारी गराउनुभयो । खिरका लागि देशभर करिब एक करोड लिटर दूध खपत हुने उहाँले बताउनुभयो ।
एसोसिएसनद्वारा नेपाल कृषि तथा पशुपक्षी व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश, रोटरी क्लब कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनियस, दुग्ध विकास संस्थान(डिडिसी), मौलिक भान्छा घर र कृषि विकास बैंकको सहकार्यमा आयोजित कार्यक्रममा साउनमा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थ खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार गरेको एसोसिएसनले जनाएको छ । दूध तथा दुग्धजन्य पदार्थको कारोबार बढ्दा दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ ।
दुग्ध किसान रामप्रसाद घिमिरेले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसार, पशु विभागका सुरेश गुरुङ, दुग्ध विकास संस्थानका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का प्रतिनिधि, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्यहरू राजन दाहाल र रामभक्त दाहाललगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि एसोसिएसनले दिवस मनाएको हो । नेपाल कृषि प्रधान देश भएकाले असार महिनाभरि धान रोपाइँमा व्यस्त किसानले साउन १५ लाई परिवार, आफन्त र समुदायसँग खुसी साटासाट गर्ने अवसरका रूपमा मनाउने परम्परा रहेको छ । खिर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास गरिएको छ । दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार मानिन्छ ।
पोषणका हिसाबले पनि खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउने भएकाले खिरको महत्त्व उच्च रहेको एसोसिएसनले उल्लेख गरेको छ । एसोसिएनसका अनुसार पछिल्ला वर्षहरूमा दूध उत्पादन वृद्धि भए पनि बजार विस्तार चुनौती बनेको अवस्थामा प्रवर्द्धन अभियानले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । डेरी क्षेत्रका सरोकारवालाहरूले साउन १५ लाई केवल सांस्कृतिक पर्वका रूपमा नभई दूध उत्पादक किसान र डेरी उद्योगको आर्थिक सशक्तीकरणसँग जोडिएको अवसरका रूपमा समेत लिनुपर्ने बताएका छन् ।

