नेपालको शेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी देख्न चाहेकाे छुः अर्थमन्त्री डा.वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको शेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी देख्न चाहेकाे बताएका छन् । सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा परेको छ,’ उनले भने, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउनुहोस्।’
राष्ट्र बैंक जत्तिकै गह्रौँ दायित्व बोर्डमाथि रहेको भन्दै उनले विचलित नभई लगानीकर्ताको सम्पत्ति संरक्षण गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए। नयाँ सरकार गठनपछि लगानीकर्ताको अपेक्षा उच्च रहेकोले नियमनकारी कानुन निर्माण गर्दा सबै पक्षसँग परामर्श गर्न र साझा बुझाइ हुने गरी लागू गर्न उनले सुझाव दिए।
शेयर बजारका हिस्सेदारहरूलाई साथमा लिएर पर्याप्त छलफल गर्न र सरोकारवालाहरूको माग सम्बोधन गर्न पनि अर्थमन्त्रीले आग्रह गरे। नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी बनाउने नवनियुक्त अध्यक्षको उद्घोष कार्यान्वयनमा देख्न चाहेको उनले बताए।
उनले भने, ‘सबैको साथ लिएर अघि बढ्नुहोस्। लगानीकर्ताको सम्पत्तिको रक्षा गर्नुहोस्। सरकार र मन्त्रालयले के सहयोग गर्ने हो, भन्नुहोस्।’
सो अवसरमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकासको ’ब्लूप्रिन्ट’ तयार गरी लागू गरेको बताए। उनले साउन महिनाभित्रै आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङका निर्देशिका तयार पार्ने र भदौदेखि परामर्शपछि लागू गर्दै जाने जानकारी दिए।


