२०० र ५०० दरका भारु नोट विधिवत् चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।
केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको छ । नेपाली बजारमा ५ सय सम्मका भारुको कारोबार गर्न सकिने र ती दरका नोट बैंकहरूले पनि सहज सटही लिने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।
बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो । तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।
त्यसैगरी अहिले प्रचलनमा रहेको २ हजारको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भारत बाहेक अन्य मुलुकबाट भने भारु ल्याउन वा लैजान नपाइने केन्द्रीय बैंकले जनाएको छ ।
भारत सरकारले सन् २०१६ नोभेम्बर ८ बाट त्यसअघिका भारु ५०० र १००० दरका नोट प्रचलनमा प्रतिबन्ध लगायो। त्यसको असर नेपालमा पनि पर्यो ।


