नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको रोजगारदाता परिषद्को गठन प्रक्रियाले बिहीबार पूर्णता पाएको छ ।
महासंघ सचिवालय टेकुमा आयोजित पहिलो बैठकमा अध्यक्ष अञ्जन श्रेष्ठले परिषद्का सभापति प्रबल जंग पाण्डेको नेतृत्वमा गठित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । बैठकले सर्वसम्मत रूपमा बाबुकाजी कार्कीलाई परिषद्को उपसभापतिमा मनोनयन गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले उद्योग-व्यवसायमैत्री श्रम सम्बन्ध स्थापना गर्न परिषद्को भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले न्यूनतम पारिश्रमिकलाई क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको र श्रम ऐन संशोधनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा निजी क्षेत्रको साझा र बलियो धारणा तयार गर्न परिषद्लाई आग्रह गरे ।
बैठकले परिषद्को दीर्घकालीन रणनीति (२०२६–२०२९) निर्माण, वार्षिक कार्ययोजना, श्रम नीति पैरवी र अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्य लगायतका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।
परिषद्का सभापति पाण्डेले सरकार र श्रमिक संगठनहरूसँगको त्रिपक्षीय संवादलाई प्रभावकारी बनाउँदै मर्यादित रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माणमा परिषद्ले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।



