फिफा विश्वकप २०२६ः फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल महाभिडन्तमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
टेक्ससको ड्यालस स्टेडियममा बुधबार बिहान भएको यस निकै रोमाञ्चक खेलमा स्पेनले आफ्नो सानदार रक्षात्मक र रणनीतिक खेलको प्रदर्शन गर्दै फ्रान्सको बलियो टोलीलाई रोक्न सफल भयो। यस जितसँगै स्पेन अब आइतबार न्युजर्सीको मेटलाइफ स्टेडियममा हुने ऐतिहासिक फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना भने यस हारसँगै समाप्त भएको छ।
खेलको २१औँ मिनेटमा स्पेनका तीव्र गतिका युवा विङ्गर लामिन यमाललाई फ्रान्सेली डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लडाएपछि स्पेनले पेनाल्टीको सुवर्ण अवसर पाएको थियो। २२औँ मिनेटमा स्ट्राइकर मिकेल ओयारजाबालले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनलाई १–० को महत्त्वपूर्ण अग्रता दिलाए। यस विश्वकपमा यो उनको पाँचौँ गोल हो। खेलको २९औँ मिनेटमा फ्रान्सका मुख्य खम्बा मानिएका डिफेन्डर विलियम सालिबा चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा म्याक्सेन्स लाक्रोइक्स मैदान प्रवेश गरे पनि सालिबाको बहिर्गमन फ्रान्सका लागि निकै ठूलो झट्का साबित भयो।
दोस्रो हाफको ५८औँ मिनेटमा स्पेनका डिफेन्डर पेड्रो पोरोले डानी ओलमोसँग उत्कृष्ट ‘वान–टु’ पास खेल्दै फ्रान्सेली रक्षापंक्तिलाई चकित पार्दै सानदार गोल गरी स्पेनको अग्रता २–० मा पुर्याए। २–० ले पछि परेको अवस्थामा फ्रान्सका प्रशिक्षक डिडिएर डेसक्याम्प्सले ओस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाडीहरू परिवर्तन गर्दै चेर्की र थियो हर्नान्डेजलाई मैदानमा उतारेका थिए। फ्रान्सका कप्तान किलियन एमबाप्पे र ब्राडली बारकोलाले गोलका केही राम्रा प्रयासहरू गरे पनि स्पेनका गोलकिपर उनाई सिमोन र डिफेन्डर पाउ कुबार्सीले ती प्रयासहरूलाई सजिलै विफल तुल्याइदिए। एमबाप्पेले खेलको ८६औँ मिनेटमा पहेंलो कार्ड समेत पाएका थिए।
यस विश्वकपमा स्पेनको रक्षात्मक पंक्ति अभेद्य देखिएको छ। यस सेमिफाइनल खेलमा पनि क्लिन–शिट राख्दै स्पेनले यस विश्वकपकै ६ खेलमा आफ्नो पोष्टमा गोल हुन दिएको छैन, जुन विश्वकप इतिहासमै ऐतिहासिक कीर्तिमान हो।
फ्रान्सलाई पन्छाउँदै फाइनलमा पुगेको स्पेनले अब आगामी आइतबार हुने उपाधि भिडन्तमा दोस्रो सेमिफाइनलको विजेता अर्जेन्टिना वा इङ्गल्याण्ड मध्ये एकको सामना गर्नेछ। दोस्रो सेमिफाइनल खेल भोलि बिहान हुँदैछ।


