युनाइटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका १४३ जना लाभान्वित
काठमाडौं । युनाइटेड सिमेन्ट्सले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
ललितपुरस्थित मेघा अस्पतालको सहकार्यमा आयोजना गरिएको शिविरमा अस्पतालका सात जना स्वास्थ्यकर्मीको टोलीले स्थानीयलाई स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो।
शिविरमा जनरल फिजिसियन डा. जमाल अश्रफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. संगीता कुमारीसहितको टोलीले स्वास्थ्य सेवा दिएका थिए। अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेकी थिइन्।
शिविरबाट १४३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। सेवा लिनेमा ७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिक रहेका थिए। अधिकांश सेवाग्राही धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दा रहेका थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता बढी रहेको कम्पनीले जनाएको छ।
स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। चिकित्सकका अनुसार शिविरमा सहभागी अधिकांशमा ढाड, कम्मर तथा घुँडासम्बन्धी समस्या देखिएको थियो। धेरै स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पाइएको चिकित्सकहरूले बताएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। शिविरमा सहभागी सबैलाई युनाइटेड सिमेन्ट्सले फलफूलको जुस र बिस्कुट वितरण गरेको थियो।
कार्यक्रमको समन्वय युनाइटेड सिमेन्ट्सका प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
शिविरमा सहभागी स्थानीयले समुदायको स्वास्थ्यप्रति चासो देखाउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा युनाइटेड सिमेन्ट्सप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालय प्रतिनिधि तथा सबै सहयोगीप्रति कम्पनीका महाप्रबन्धक उप्रेतीले धन्यवाद व्यक्त गरेका छन्।


