एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, ए क्याटेगोरीमा ५ खेलाडी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सोमबार हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको सूचीअनुसार अक्सनका लागि ३४७ आवेदनमध्ये १५५ खेलाडी छनोट भएका छन्।
छनोट भएका खेलाडीमध्ये ५ जना ए क्याटेगोरीमा, २७ जना बी क्याटेगोरीमा र सर्वाधिक १२३ जना सी क्याटेगोरीमा रहेका छन्। अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन्।
क्यानका अनुसार यस संस्करणमा प्रत्येक फ्रेन्चाइज टोलीमा दुई नयाँ नेपाली खेलाडी थपिनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित प्रत्येक टोलीमा कुल १४ खेलाडी रहनेछन्।
अक्सनअघि सबैभन्दा बढी बजेट जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रुपैयाँ रहेको छ। त्यसपछि विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख रुपैयाँ रहेको छ। काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँको बजेट छ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स भने दुवै संस्करणमा उपविजेतामै सीमित भएको थियो।




