सिम्रिकले जनवरीमा दुई नयाँ हेलिकोप्टर ल्याउदै, ‘बेल जेट रेन्जर एक्स’ सिरिज |
काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा कम्पनी सिम्रिक एयरले आउँदो जनवरीमा दुईवटा हेलिकोप्टर ल्याउने भएको छ । कम्पनीले बेल ५०५ मोडलको ‘जेट रेन्जर–एक्स’ सिरीजको हेलिकोप्टर ल्याउन लागेको कम्पनीका महाप्रबन्धक प्रेम थापाले बताए ।
‘हामीसँग अहिले एयरबस र बेलका हेलिकोप्टर छन् । यिनको तुलनामा जेट रेन्जर–एक्स नेपाली आकाशको लागि नयाँ हुनेछ,’ उनले भने, ’यो हेलिकोप्टरमार्फत लो–कस्ट अपरेसनसँगै उद्धारको काम सहज रूपमा गर्न सकिन्छ ।’
नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राख्दै दुईवटा हेलिकोप्टर थप्न लागेको उनले बताए । ३२ करोडको लागतमा हेलिकप्टर भित्र्याउन उत्पादक कम्पनी बेलसँग सिम्रिकले सम्झौताको प्रक्रिया पुरा गरिसकेको छ ।
चालकसहित पाँचवटा सीट क्षमता भएको हेलिकोप्टरको ककपीटमा पूर्ण रूपमा डिजिटल संयन्त्र जडान गरिएको हुने भएकाले सुविधा हुने उनको भनाइ छ । ’यो हेलिकोप्टरमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । ककपीटदेखि पाइलटलाई आवश्यक जानकारी सम्प्रेषणका लागि डिजिटल टेक्नोलोजीको सुविधा हुनेछ,’ उनले भने ।
’जेट रेन्जर–एक्स’ सिरीजको हेलिकोप्टर खरिद गर्ने भएपछि कम्पनीले गत वर्ष नेपालमा ल्याएर परीक्षण उडान गर्न लगाइसकेको छ । उक्त हेलिकोप्टरमा २० हजार मिटर उचाईसम्म उडान गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
’हामी नेपाल नागरिक उड्डन प्राधिकरणको सम्पूर्ण प्रक्रिया पुरा गरेर अब हेलिकोप्टर ल्याउने तयारी गरेका हौं,’ उनले भने । हेलिकोप्टर आइपुगेपछि नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीको सहभागितामा परीक्षण उडान गरिने छ । ’सफल परीक्षण उडानपछि हामी यी दुई हेलिकोप्टरमार्फत नियमित उडान सुरू गर्नेछौं,’ उनले भने । नयाँ दुईवटा थपिएपछि कम्पनीसँग सातवटा हेलिकोप्टर हुनेछ ।



