खनाल र जयशंकर भेटवार्ताः डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजनासम्मका तीन निर्णय
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच हिजो नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। दुई मन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको सबै आयाममा व्यापक छलफल गरेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पारेका थिए। उनले भने, ‘हामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ।’
दुई मन्त्रीहरूले बैठकका क्रममा तीनबुँदे संयुक्त घोषणा गरेका छन् ।
- जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत ए२ए क्रस बोर्डर भुक्तानी लेनदेनको सञ्चालन।
- भारतको विकास सहयोगमा निर्मित नेपालमा भूकम्पपछिको ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण परियोजनाहरू हस्तान्तरण ।
- ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता केन्द्र र डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान ।
यसअघि, भारतीय विदेशमन्त्री जयशंकरले भेटमा विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेष गरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्यापासिटी बिल्डिङ, डिजिटल, संस्कृति र खेलकुदलगायत नेपाल–भारत साझेदारीका बारेमा विस्तृत छलफल भएको बताएका थिए।
मन्त्री खनाल आज (जेठ २४ गते) स्वदेश फर्कने कार्यक्रम छ।


