मुक्तिनाथ विकास बैंकको फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’मा नयाँ ‘सेल्फ–रिन्यु’ सुविधा थप गरेको छ । यस सुविधासँगै अब ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा कार्यालयमा जानुपर्ने बाध्यता अन्त्य भएको बैंकले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार ग्राहकहरूले घरमै बसेर वा आफूलाई अनुकूल हुने समयमा एपमार्फत नै मोबाइल बैंकिङ सेवा नवीकरण गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले एपमा लगइन गरी एक्सपायर सम्बन्धी पप–अप देखिएपछि ‘रिन्यु नाउ’ विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी देखिनेछ र आवश्यक प्रक्रिया पूरा गर्दै ‘कन्टिन्यू’ बटन थिचेर आफ्नो ट्रान्ज्याक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यस सुविधासँगै ग्राहकहरूले बैंक नपुगी नै आफ्नो एनआईडी, प्यान नम्बर तथा ई–मेल ठेगाना समेत फाइदा एपमार्फत अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी, सहज र ग्राहकमैत्री बनाउने उद्देश्यले यो नयाँ सुविधा ल्याइएको हो । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।


