सब्रिना होटल ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने, विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोरको लाइफस्टाइल ब्राण्ड हो ट्राइब
काठमाडौं । राजधानीको बुढानीलकण्ठस्थित गणेश चोकमा सञ्चालित सब्रिना होटल अब ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने छ । ट्राइब विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोर लाइफस्टाइल ब्रान्ड हो ।
गत साता मात्रै सब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको राजधानी नयाँ दिल्लीमा यससम्वन्धमा सम्झौता भएको थियो । सम्झौता अनुसार सब्रिना होटलको ट्राइब काठमाडौं नामबाट सञ्चालन निर्णय गरिएको छ ।
यो ट्राइब ब्रान्डको दक्षिण एसियामै पहिलो प्रोजेक्ट हुनेछ । सब्रिना होटलका अध्यक्ष निराजन थापाले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुशी भएको बताए ।
उनले भने– ‘काठमाडौंमा डिजाइन, आराम र समुदायलाई जोड्ने आधुनिक अतिथि सत्कारको बढ्दो माग छ र ट्राइब ब्रान्डले त्यही आवश्यकतालाई राम्रोसँग पूरा गर्छ ।’ थापाले यो होटल अब ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

ट्राइब ब्रान्ड यसको आधुनिक डिजाइन, व्यवहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ ।
विश्वभर ट्राइब ब्रान्डका २७ होटेल सञ्चालनमा छन् । भारत आउनु अघि नै ट्राइब ब्रान्ड नेपाल आएको हो । ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा छ ।
हाल यो होटल पाँचतारेमा अपग्रेड भइरहेको छ । स्तरोन्नतिपछि ११० वटा कोठासहित सुविधा सम्पन्न होटेलको रूपमा सञ्चालनमा आउनेछ । रोन्नतिपछि होटलमा ३ वटा रेस्टुरेन्ट रहने छन्, रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुने पनि थापाले बताए ।
अहिले कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरी स्तरोन्नति भइरहेको बताइएको छ । स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम लगायतका सुविधा पनि यहाँ रहने छ । रणनीतिक रूपमा काठमाडौंको मुटुमा अवस्थित यो होटेल काठमाडौं विमानस्थलबाट १० किलोमिटरभन्दा कामको दुरीमा छ भने पर्यटकीय शहर ठमेलबाट झन् नजिक छ ।
शिवपुरी नेशनल पार्क होटेलबाट नजिकै पर्छ । जसले विदेश पाहुनालाई समेत सहज तुल्याउने विश्वास लिइएको छ । सब्रिना होटेलले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने समेत योजना बनाएको छ ।
जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हाल कम्पनीको जारी पुँजी १ अर्ब १२ करोडबाट बढाएर १ अर्ब २२ करोड कायम गरिएको छ । जस मध्ये ७४ करोड ९६ लाख संस्थापक समूहको रहने छ भने कम्पनीले ४७ करोड ४ लाख रुपियाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।


