नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न
काठमाडौं । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान (ICANN) र युनेस्को (UNESCO) संगको सहकार्यमा शनिबार भएको कार्यक्रम इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने लक्ष्यसहित सञ्चालन गरिएको थियो ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (Universal Acceptance – UA) दिवसको अवसर पारी आयोजित कार्यक्रममा विशेषगरी नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।
उद्घाटन समारोहमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो ह्याकाथन कार्यक्रम केवल प्रतिस्पर्धा मात्र नभएर नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक कदम भएको बताउनुभयो । त्यस्तै, महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधिलाई भुइँतहका नागरिकसम्म पुर्याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ को भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सरकारी निकायको तर्फबाट प्रतिबद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताउनुभयो । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले प्रविधिमा आफ्नै मातृभाषाको प्रयोगले मानिसहरूलाई सशक्त बनाउने र पहिचान जोगाउने धारणा राख्नुभयो ।
आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले विश्वव्यापी इन्टरनेट इकोसिस्टममा ‘युनिभर्सल एक्सेप्टेन्स’ को रणनीतिक महत्त्वबारे प्रकाश पार्दै आफ्नै रैथाने लिपि वा भाषामा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको र यसो गरे मात्र डिजिटल खाडल पुर्न सक्ने बताउनुभयो ।
कार्यक्रमको प्राविधिक विधा (Technical Track) तर्फ अत्यन्तै उत्साहजनक र कडा प्रतिस्पर्धाका बीच यस ह्याकाथनमा ‘टिम एभरेष्ट’ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । टिमका सदस्यहरू निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले इन्टरनेटलाई आफ्नै मातृभाषा र लिपिमा पहुँचयोग्य बनाउनका लागि देवनागरी लिपिमा आधारित ईमेल ठेगाना सिर्जना गर्ने र प्रयोग गर्न सकिने अत्याधुनिक प्रणालीको विकास गरेका थिए । विजेता टोलीको यस परियोजनाले युनिभर्सल एक्सेप्टेन्स, ईमेल ठेगाना अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रियकृत डोमेन नेमको महत्वलाई प्रष्ट पारेको छ । यस नवप्रवर्तनले इन्टरनेट प्रयोगकर्ताहरूलाई केवल ल्याटिन (अंग्रेजी) क्यारेक्टरहरूमा मात्र सीमित नराखी नेपाली र देवनागरी जस्ता स्थानीय भाषाहरूलाई डिजिटल प्लेटफर्महरूले पूर्ण रूपमा बुझ्ने र स्वीकार गर्ने वातावरण निर्माण गर्न बलियो आधार खडा गरेको छ ।
त्यसैगरी, कार्यक्रमको गैह्र-प्राविधिक विधा (Non-Technical Track) तर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम हुन सफल भएको छ । यस टोलीले नेपालमा युनिभर्सल एक्सेप्टेन्सको अवधारणालाई तल्लो तहसम्म पुर्याउन र कार्यान्वयन गराउनका लागि देशका विभिन्न क्षेत्र र सरोकारवालाहरूलाई समेट्ने गरी ‘नीतिगत तथा चेतनामूलक योजना’ (Policy and Awareness Plan) को उत्कृष्ट खाका विकास गरेको थियो ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञहरूबीच विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र अवसरबारे मन्थन भएको थियो । हाल इन्टरनेटमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषाहरूमा सहजै ईमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने ‘यूए-रेडी’ डिजिटल प्लेटफर्महरूको विकासलाई मुख्य प्राथमिकता दिइएको छ ।
क्यान महासंघले यसअघि नै नेपालको पहिलो अन्तर्राष्ट्रियकृत डोमेन नेम (IDN) का रूपमा नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल https://क्यान.संगठन सञ्चालनमा ल्याइसकेको छ । हिजो सम्पन्न यस ह्याकाथनमार्फत सहभागी डेभलपर र विद्यार्थीहरूले सरकारी निकाय, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र समुदाय स्तरका विभिन्न सरोकारवालाहरूका लागि समेत उपयोगी हुने बहुभाषिक प्रविधि निर्माणका नवीन डिजिटल समाधानहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एप्निक (APNIC), वर्ल्डलिङ्क कम्युनिकेसन्स (Worldlink Communications), आईस्पान (ISPAN), होरियन (Horion), सनवे कलेज काठमाडौँ (Sunway College Kathmandu), सफ्टवारिका कलेज (Softwarica College of IT & eCommerce) लगायतका संस्थाहरूको सहयोग रहेको थियो ।
भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट सञ्चालित यस कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधि प्रेमीहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकीय पक्ष, रणनीति र समग्र संयोजनबारे जानकारी दिँदै कार्यक्रम संयोजक उदिप बरालले यस किसिमको बहुभाषिक प्रविधि अभियानले नेपालको डिजिटल समावेशीकरणमा कोशेढुङ्गा थप्ने विश्वास व्यक्त गर्नुभयो । साथै, ह्याकाथनका प्राविधिक सत्रहरू, मेन्टरसिप र प्राविधिक पक्षको प्रभावकारी परिचालनको नेतृत्व टिम लिड विवेक सिल्वालले गर्नुभएको थियो भने सहभागीहरूलाई प्राविधिक मार्गदर्शन र प्रशिक्षण दिने कार्यमा प्राविधिक प्रशिक्षक राहुल शाक्यले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।


