नेपाल बीमा प्राधिकरणले मनायो ५८औँ वार्षिकोत्सव
काठमाडौं। नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि बीमा सम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमै दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताइन्।
अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बीमितको हित संरक्षण, बीमकको संस्थागत सुदृढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अगाडि बढाउने जानकारी दिइन्।
अध्यक्ष पौडेलले बीमित, बीमक लगायत सम्बद्ध निकाय एवम् संस्थाहरूसँगको नीतिगत एवम् संस्थागत सहकार्यले बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सम्बद्ध सबैको सुझावका आधारमा प्राधिकरण नयाँ ढङ्गले अगाडि बढ्ने बताइन्।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताए। उनले बीमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नुहुँदै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यसवर्ष फड्को मारेको बताए।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष ओम बहादुर के.सी. र नेपाल बीमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र प्राधिकरणको सञ्चालक समितिका सदस्य मान बहादुर अर्यालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरे।


