अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि महासंघ आन्दोलित
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमीक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।
मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा महासंघले विहिवार सडक तथा उर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाउँदै सम्बन्धित विभागमा धर्ना समेत दिने भएको छ । आन्दोलनकै कार्यक्रम अनुसार शुक्रवार र आगामी सोमबार शहरी विकास तथा भवन निर्माण र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशको कार्यालयमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिइने महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।
महासचिव घिमिरेका अनुसार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले विहिवार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् । जिल्ला संघहरूले शुक्रवार र आगामी सोमवार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिंचाई कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।
विरोधकै कार्यक्रम अन्र्तगत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रवार मुख्यमन्त्रीज्यूलाई ज्ञापन पत्र बु्झाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।


