हिमालयन पावर पार्टनरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड ले आज (बैशाख १७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण ऋण रकम भुक्तानी गर्न प्रयोग गर्नेछ।



