अनलाइन प्रणालीबाट घरबाटै एनओसी लिन सकिने
काठमाडौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन सानोठिमीस्थित कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यस प्रक्रियालाई पूर्ण रूपमा फेसलेस र डिजिटल बनाउन त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग प्रणालीगत अन्तरआवद्धता गर्ने कार्य सम्पन्न गरेको छ।
यो नयाँ व्यवस्थासँगै अब उच्च शिक्षा (स्नातकोत्तर वा सोभन्दा माथि) अध्ययनका लागि जाने विद्यार्थीहरूले पनि आफ्ना शैक्षिक प्रमाणपत्रहरू रुजु गराउन भौतिक रूपमा कार्यालय उपस्थित हुनुपर्ने छैन।
यस प्रणाली अन्तर्गत विद्यार्थीहरूले एनओसीको अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। राजस्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको ‘रिमास’ प्रणाली जोडिएकाले पैसा तिर्न बैंकसम्म जानुपर्ने झन्झट समेत हटेको छ।
आवेदकले बुझाएको विवरण सरकारी डेटाबेससँग मेल खाएमा अनलाइनबाटै आवेदन स्वीकृत हुनेछ। स्वीकृत भएको एनओसी सर्टिफिकेट विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।



