आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पूजाअर्चना गरी मनाइँदै
काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पूजाअर्चना गरी मनाइँदै छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिएका भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका राम मन्दिरमा आज भगवान श्रीरामको पूजाअर्चना गरी यो पर्व मनाइँदै छ।
देशैभरीक श्रीराम मन्दिरमा आज पूजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ। भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उनलाई उच्च सम्मान गरी पूजा गर्ने गरिएको हो । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ। यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ।
रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ। परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ। त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ।




