नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने
काठमाडाैं । आगामी नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ । यस प्रदर्शनीमार्फत नेपालका सांस्कृतिक र पर्यटकीय गतिविधिहरु कलात्मक पात्रोमा प्रस्तुत गरिने जनाइएको छ।
गत वर्ष २०८२ मा बैंक, विद्यालय, व्यवसायिक संस्था, राजनीतिक संगठन तथा सहकारीहरूले तीन करोडभन्दा बढी पात्रो प्रकाशन तथा वितरण गरेका थिए। यस वर्ष पनि सो संख्या बढ्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा विभिन्न आकर्षक तस्बिरसहितका पात्रोहरू राखिनेछन्।
आयोजकका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेन्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेन्डर प्रदर्शन गर्न विशेष अपिल गरेका छन्।
नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक, र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।
क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रदर्शनीसँगै ३३ पोखरी परिक्रमा कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ, जसले आगन्तुकलाई सांस्कृतिक तथा पर्यटन अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
यो प्रदर्शनी चैत ३०, २०८२ देखि बैशाख १, २०८३ सम्म भक्तपुरमा सञ्चालन हुने जनाइएको छ।




