सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वादको पुनरुत्थान
काठमाडौं । आधुनिक भान्सामा विदेशी परिकारको दबदबा बढिरहेको वर्तमान समयमा, नेपालका आफ्नै मौलिक स्वादहरूको खोजी र जगेर्ना गर्नु पहिले भन्दा अझ महत्त्वपूर्ण भएको छ। यसै सन्दर्भमा, हायात प्लेस बुटवलका एक्जुकेटिभ सेफ उमेश तामाङले “लस्ट फ्लेभर्स अफ नेपाल” (नेपालका हराउँदै गएका स्वादहरू) अभियानमार्फत नेपाली परिकारको पुनरुत्थानको नेतृत्व गरिरहनुभएको छ। यो अभियान कुनै समय नेपाली भान्साको पहिचान बनेका परम्परागत परिकार, रैथाने सामग्री र पुराना पकाउने शैलीहरूलाई फर्काउन समर्पित छ। मौलिकतालाई आधुनिक प्रस्तुतिसँग जोडेर, सेफ तामाङले पुराना पुस्ताका कथा, परम्परा र यादहरू जोडिएका परिकारहरू पाहुनाहरूमाझ पस्कँदै हुनुहुन्छ।
आजको आधुनिक खानपान परिदृश्यमा, सेफहरूको भूमिका भान्सामा मात्र सीमित छैन; उनीहरू हाम्रा परम्परालाई जोगाउने र नयाँ पुस्तालाई चिनाउने ‘सांस्कृतिक प्रतिनिधी’ समेत हुन्। नेपाली खानपान र यसका क्षेत्रीय विशेषताहरूको गहिरो ज्ञान भएका सेफ तामाङ, हाम्रा आमा र हजुरआमाहरूले मायाले पकाउने र पुस्तान्तरण हुँदै आएका घरेलु परिकारहरूलाई पुनः भान्सामा ल्याउन प्रतिबद्ध हुनुहुन्छ।
यस ‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियानमार्फत, सेफ तामाङ र उहाँको टोलीले बिर्सिंदै गएका पकाउने पद्दतिहरूलाई अपनाउँदै स्थानीय रैथाने सामग्रीहरूको प्रवर्द्धन गरिरहेका छन्। उनीहरूले परम्परागत स्वादलाई नबिगारीकन आधुनिक पारखीहरूलाई मनपर्ने गरी आकर्षक रूपमा प्रस्तुत गर्दैछन्। यो विशेष मेनुले क्षेत्रीय कुलिनेरी परम्पराबाट प्रेरित परिकारहरूलाई समेटेको छ, जसलाई मौलिकता कायम राख्दै आधुनिक स्वाद र शैली अनुसार तयार पारिएको छ।
“खाना आफैँले एउटा सशक्त कहानी बताउँछ,” सेफ तामाङ भन्नुहुन्छ, “कुनै समय हाम्रो भान्साको चिनारी बनेका धेरै परिकारहरू आज बिस्तारै हराउँदै गइरहेका छन्। एक सेफको नाताले यी परम्पराहरूलाई जोगाउनु र नयाँ पुस्तामाझ बाँड्नु हाम्रो दायित्व हो। यस अभियानमार्फत हामी हाम्रो खानपानको पहिचान निर्माण गर्ने ती मौलिक स्वादहरूलाई फर्काउने आशा राख्दछौं।”
नेपालको सम्पन्न खानपान सम्पदाको सम्मान गर्दै, हायात प्लेस बुटवलले संस्कृति, परम्परा र समाजलाई जोड्ने अर्थपूर्ण भोजनको अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेको छ। ‘लस्ट फ्लेभर्स अफ नेपाल’ मार्फत, होटलले आफ्ना पाहुनाहरूलाई परम्परागत परिकारहरूमार्फत नेपाली खानपानको गहिराइ र विविधतालाई पुनः अनुभव गर्न आमन्त्रण गर्दछ।




