सात महिनामा ११ प्रतिशतले बढ्यो शेयर धितो कर्जा
काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ ।
जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा मार्जिन कर्जामा २७.८ प्रतिशतको उच्च वृद्धि भई कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो। तुलनात्मक रूपमा यस वर्षको वृद्धिदर (११ प्रतिशत) कम देखिए पनि, कर्जा प्रवाहको कुल आकार र त्यसले बजारमा पार्ने प्रभाव भने अझै महत्त्वपूर्ण हुने देखिन्छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार, मार्जिन नेचर लोनलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ। जसमध्ये १ करोड रुपैयाँभन्दा बढीका कर्जाको हिस्सा सबैभन्दा ठुलो छ। चालु आर्थिक वर्षको सात महिनामा १ करोड रुपैयाँभन्दा बढीका कर्जामा १० अर्ब ७५ करोड २७ लाख रुपैयाँको वृद्धि देखिएको छ। यसले ठुला लगानीकर्ताहरू र संस्थागत खेलाडीहरूले शेयर बजारमा बढी ऋण लिएर लगानी गरिरहेको स्पष्ट सङ्केत गर्दछ।




