निर्वाचनमा देशैभर हेलिकप्टरबाट हवाई गस्ती गरिने
काठमाडौँ । फागुन २१ गते अर्थात भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष बनाउन सरकारले देशैभर हेलिकप्टरमार्फत हवाई गस्ती गर्ने भएको छ ।
बुधबार बसेको बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले संवेदनशील तथा दुर्गम निर्वाचन क्षेत्रलाई लक्षित गर्दै हवाई गस्ती सञ्चालन गर्ने निर्णय गरेको हो । निर्वाचन सुरक्षित र मर्यादित बनाउन नेपाल सेनाका साथै निजी कम्पनीका हेलिकप्टर समेत परिचालन गरिने भएको हो ।
देशैभर हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय भएको छ । सेनाको हेलिकप्टरबाट मात्रै देशैभर गस्ती गर्न सम्भव छैन् । त्यसैले अन्य कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय भएको बताइएको छ ।
सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ अवस्थामा राखिने भएको हो । निर्वाचन अवधिभर सम्भावित जोखिम क्षेत्रको अनुगमन, आकस्मिक उद्धार तथा द्रुत सुरक्षा परिचालनका लागि हवाई गस्ती प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




