कांग्रेसले काठमाडौंं उपत्यकाका उम्मेदवारहरूको भिजन १० सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक गर्दैछ ।
दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरुको उपस्थितीमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए ।
महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए ।
समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हों, उनले भने ।
कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेस उम्मेदवारहरु उपस्थित हुने नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यले जानकारी दिए ।




