उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी घोषणा
काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ । महासंघको ६० औँ वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा गरिएको छ ।
आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । जुनबेला हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ । जसका लागि उम्मेदवारी घोषणा गरिएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै महासंघका वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । ढकाल हाल वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको उनले स्पष्ट पारे ।
‘अहिले बजार चलायमान छैन । युवाहरू बिदेसिने क्रम बढ्दो छ । युवा स्वदेशमै रोक्ने र बजार चलायमान बनाउन काम गर्नेछौँ’ उनले भने ।
आर्थिक स्थायित्वका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने आवश्यक रहेको उनले सुझाए । निजी क्षेत्रका गुनासाहरूलाई सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए ।
महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । हाल पनि उनी एसोसिएट उपाध्यक्ष नै हुन् ।
उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उनले यस कार्यकालमा सुरु गरेका कामहरू पूर्ण गर्नका लागि फेरि उम्मेदवारी दिएको बताइन् ।
‘मैले बोलेर होइन धेरै काम गरेर पनि देखाएको छु । निजी क्षेत्रको वास्तविक पिडा नजिकबाट महसुस गरेको छु । त्यो पिडा कम गर्न पहल गर्नेछु’, उनले भनिन् ।
ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा छन् ।
ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका डालमियाले २०५१ सालदेखि विभिन्न काम गर्दै आएका कारण निजी क्षेत्रका समस्या सरकारसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्ला नगरमा धेरै समस्या रहेका समस्या सरकारसमक्ष राखेर नीति निर्माण गर्न काम गर्ने बताए ।
त्यस्तै, जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी गैरेले दर्ता, नवीकरण, भन्सार, साना तथा ठूला व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइन् । उनले जिल्ला नगरका उद्योगीहरूको आवाजका लागि उनले उम्मेदवारी दिएको बताइन् ।
‘साना उद्योगीहरू टिक्न नसक्ने अवस्थामा छन् । उनीहरूको हितमा काम कम भएको छ । उनीहरूकै लागि काम गर्नका लागि मैले उम्मेदवारी दिएकी हुँ’, उनले अगाडी भनिन्, ‘मलाई महिला भएकै कारण मात्र भोट नदिनु । मेरो क्षमता र योग्यता हेरेर भोट दिन आग्रह गर्दछु ।’
वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नरेशलाल श्रेष्ठले निजी क्षेत्र पक्ष वा विपक्षमा नरहेर एकजुट हुन आह्वान गरे । उनले निजी क्षेत्रको हितका लागि काम गर्न उम्मेदवारी घोषणा गरेको बताए ।
उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सौन्दर्य व्यवसायमा चार दशक बिताइसकेकी उनले यस क्षेत्रका महिलाहरूका लागि हितमा काम गर्ने प्रतिबद्धता जनाइन् । महासंघमा महिलाको सहभागिता कम रहेकाले सबैलाई एकजुट हुन उनले आग्रह गरिन् ।
महिला उद्यमीलाई कर छुट, महिला लक्षित कार्यक्रम, सहुलियतपूर्ण ऋण र ग्रामीण महिला उद्यमीहरूलाई विशेष प्राथमिकता दिएर काम गर्ने उनले बताइन् ।




