पोखराबाट काठमाडौं आउँदै गरेको नाईटबस मध्यराति त्रिशुलीमा खस्यो, १७ जनाको निधन
काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको एक नाईट बस गत मध्यराति बेनिघाटस्थित सडकबाट त्रिशुली नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको निधन भएको छ ।
स्थानीय प्रहरीका अनुसार थप केही बेपत्ता भएको अनुमान गरिएको छ । दुर्घटना लगत्तै स्थानीयबासी, अन्य सवार साधनका यात्रु तथा प्रहरी समेतको सहयोगमा २४ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।
पोखराबाट काठमाडौंतर्फ आइरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ः३० बजेको समयमा धादिङ जिल्लाको बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्गबाट शित्रुली नदि किनारामा खसेर दुर्घटनाग्रस्त हुन पुगेको हो । घटनामा बस उतानो परेर पल्टिएर क्षतिग्रस्त भएको अवस्थामा देखिएको छ ।
दुर्घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको छ । घटनामा थप यात्रुको उद्धार तथा खोजी कार्य जारी छ । अप्ठेरो बाटो तथा रातिको समयमा भएकोले उद्धारमा कठिनाई भइरहेको छ ।
स्थानीयबासीका अनुसार निधन भएका १७ जनाको शव घटनास्थलमा नै छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । अत्याधिक गतिमा दौडाएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
घटनामा ठूलो मात्रामा बीमा दावी पर्ने भएको छ । मृतकको बीमा दावी तथा घाइतेको उद्धार तथा बसको सम्पत्ति बीमा अन्तर्गतका बीमा दावीहरु पर्नेछन् ।




