नाइमाले सरकारसमक्ष प्रस्तुत गर्यो ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ मा सुझाव
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले सरकारसमक्ष ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ मा सुझाव पेश गरेको छ । नाइमाले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका केही व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको हो । नाइमाले आफ्नो पत्रमा उल्लेख गरेअनुसार ट्याक्सी सेवा मापदण्ड, २०८१ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा व्यवस्था गरिएको छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवासम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएका छन् र ती मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको छ।
हाल बागमती प्रदेशमा व्यवहारमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था देखिएको छ। तर राष्ट्रिय मापदण्ड अनुसार साधारण, विशेष र विशिष्ट वर्गभित्र पर्ने तथा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था रहेको नाइमाले ध्यानाकर्षण गराएको छ। नाइमाले सिडान बाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनहरूलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको उल्लेख गरेको छ।
मापदण्डमा तोकिएका सबै शर्तहरू पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकताअनुसार सेवा दिन थप लचकता प्राप्त हुने, यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने उल्लेख गरिएको छ।
पत्रमा विश्वका विभिन्न देशहरूमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको सन्दर्भ पनि प्रस्तुत गरिएको छ। नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्पहरू सीमित रहेको अवस्था देखिएको छ। केही अन्य सहरहरूमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए तापनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको धारणा रहेको छ। यस सन्दर्भमा साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा राष्ट्रिय मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवासम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने सवारी साधनहरूलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।
नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न नाइमा प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ।




