नेपाल इन्जिनियरिङ कलेजका अनुसन्धानकर्तालाई बेस्ट पेपर अवार्ड
काठमाडौं । चाँगुनारायण भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताहरुले बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन् । कलेजका अनुसन्धानकर्ताहरु प्रभात कुमार चौधरी, सन्तोष कुमार चौधरी, उज्ज्वल कुमार कर्ण, दिपिका न्यौपाने, राजीव कुमार यादव, दिपेश प्रसाद गुरागाईं, र विजय श्रेष्ठलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ मा (ट्रयाक ५ः कम्प्युटिङमा हालसालैका प्रवृत्तिहरू) मा बेस्ट पेपर अवार्ड दिइएको हो ।
उनीहरुलाई “तूर(अरहर) बालीका रोग वर्गीकरणका लागि प्रभावकारी गहिरो सिकाइमा आधारित मोबाइल अनुप्रयोग” शिर्षकको गहिरो अध्ययन, प्रविधिगत उत्कृष्टता र वास्तविक कृषि सम्बन्धी समस्याहरूको समाधानका लागि उक्त अवार्ड दिइएको आयोजक अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ ले जानकारी दिएको छ ।
अनुसन्धानककर्ताहरुले प्राप्त गरेको अवार्डको अन्तर्राष्ट्रिय मान्यताले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको उत्कृष्टता प्रस्फुटन गराउनुको साथै कलेजले नवप्रवर्तन प्रवद्र्धन, प्रभावशाली अनुसन्धान विकास र विश्वव्यापी वैज्ञानिक प्रगतिमा योगदान दिने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
कलेजले नेपालमै पहिलो पटक रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपाल सँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म ह्यात सेण्ट्रिक काठमाडौंमा आइ ट्रिपल इ अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सफलतापूर्वक सम्पन्न गरेको थियो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा अनुसन्धानका निष्कर्षहरू आदान–प्रदान गरेका थिए ।




