पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका निर्णायक : प्रमुख कार्यकारी अधिकृत जोशी
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न नीतिगत स्पष्टता, पूर्वाधार विस्तार र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ।
काठमाडौं जिल्ला होटल व्यवसायी संघको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जोशीले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पर्यटन व्यवसाय मात्र होइन, यो राष्ट्रको छवि, संस्कृति र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। होटल व्यवसायीहरू सशक्त भए मात्रै समग्र पर्यटन उद्योग बलियो हुन्छ।” वहाँले होटल व्यवसायीहरूलाई एकताबद्ध भई गुणस्तरीय सेवा र दिगो पर्यटनमा केन्द्रित हुन आह्वान समेत गर्नु भयो।
बुढानिलकण्ठस्थित पबेरा हेरिटेज बुटिकमा आयोजित साधारणसभाको उदघाट्न सत्रमा विभिन्न होटल तथा पर्यटन सम्बद्ध संघ-संस्थाका पदाधिकारी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा होटल व्यवसायी महासंघ, विभिन्न क्षेत्रीय होटल संघ, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।
जोशीले पछिल्ला वर्षहरूमा पर्यटन आगमनमा देखिएको सुधारलाई अवसरका रूपमा लिन आग्रह गर्दै सेवा गुणस्तर, आतिथ्य संस्कार र डिजिटल प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो। “अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हामीले आफ्ना उत्पादनलाई मात्र होइन, अनुभवलाई बेच्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अनुपम गन्तव्य हो, अब यसलाई प्रभावकारी ब्रान्डिङ गर्न जरुरी छ।”

कार्यक्रममा संघका अध्यक्ष सुरेश बरालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै व्यवसायीका समस्या, बैंकिङ क्षेत्रको कर्जा दबाब, कर संरचना तथा पर्यटन पूर्वाधारको अभावबारे धारणा राख्नुभयो। उहाँले निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्नुभयो।
सभामा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार मञ्चका सचिव एवं चन्द्रसूर्य वाणी डट कमका सम्पादक सन्तोष मिश्रलाई काठमाडौं जिल्ला होटल व्यवसायी संघको सातौँ वार्षिक साधारणसभामा सम्मानपत्रसहित सम्मान गरिएको थियो। सोही अवसरमा टुरिजमअफ नेपालका सम्पादक विश्वराज भण्डारीलाई पनि पर्यटन क्षेत्रको प्रचार–प्रसारमा पुर्याएको योगदानका लागि कदर गरिएको हो।
त्यस्तै विभिन्न होटल व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको थियो भने पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहयोगी संस्थाहरूलाई पनि कृतज्ञता ज्ञापन गरिएको थियो।
वक्ताहरूले पर्यटन उद्योगलाई चलायमान बनाउन संघ–संस्थाबीच सहकार्य, व्यवसायिक एकता र नीतिगत स्थायित्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। कोभिडपछिको चुनौतीपूर्ण अवस्थाबाट उठ्दै गरेको पर्यटन क्षेत्रलाई दिगो, व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको सक्रियता नै मुख्य आधार हुने उनीहरूको निष्कर्ष थियो।



