आईसीसी टी २० विश्वकप : इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी २० विश्वकप अन्तर्गत आज पहिलो खेल खेल्दैछ। नेपालले आज पूर्वविजेता इंग्ल्यान्डसँग खेल्न लागेको हो। मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इंग्ल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।
नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ति दुवै खेलमा नेपालले जित हात पारेको थियो। विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ।
नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।
विश्वकपमा आइतबार पनि तीन खेल हुनेछ। दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का अफगानिस्तान र न्यु जिल्यान्ड खेल्नेछन्। उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।




