छ महिनामा विदेशी विनिमय सञ्चिति २१.१% बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ। असार मसान्तमा यो सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ बराबरको सञ्चिति थियो।
त्यस्तै, नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३६.२ प्रतिशतले बढेर ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ। असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।



