अब कांग्रेसमा गुटगत राजनीति र अप्राकृतिक गठबन्धनको युग सकियो: सभापति गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुटगत राजनीति र सत्ताका लागि गरिने अप्राकृतिक गठबन्धनको युग अन्त्य भएको घोषणा गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई आधिकारिकता दिएपछि शुक्रबार एक विशेष अपील जारी गर्दै थापाले कांग्रेस अब आफ्नै मूल्य, मान्यता र आदर्शको ‘मूल जरा’ मा फर्किएको बताएका हुन् ।
सभापति थापाले निर्वाचन आयोगको निर्णयसँगै कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गरे । ‘पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ भन्ने कुरा यसले स्थापित गरेको छ,’ अपीलमा भनिएको छ, ‘यो सार्थक परिवर्तन र देशको समुन्नतिका लागि हामीले गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो ।’
अपीलमा थापाले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । उनले यसलाई कसैको हार वा जीतको रूपमा नलिन र कुनै अलमलमा नपर्न समेत अपिल गरेका छन् । उनले पूर्व सभापति शेरबहादुर देउवा लगायतका नेताहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वास समेत व्यक्त गरे ।
थापाले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुने छैन र लाग्ने छैन । जिम्मेवारी फरक होला, तर भुइँतहमा रहेका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ ।’ उनले अब कार्यकर्ताको चाहना नै पार्टीको निर्णयको आधार हुने स्पष्ट पारे।
राजनीतिक दिशाका बारेमा प्रष्ट पार्दै सभापति थापाले अब कांग्रेसले सत्ताका लागि जोसँग पनि अप्राकृतिक गठबन्धन गर्ने परिपाटी अन्त्य गर्ने घोषणा गरे । ‘अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन,’ उनले भने, ‘विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै अब कांग्रेस बदलिएको छ र थप बदलिनेछ ।’
आगामी निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भई लाग्न उनले आह्वान गरेका छन् ।



