नेकपा नेता शिवराम यादव सप्तरी १ बाट चुनाव लड्ने चर्चा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवराम यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट आउँदो प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेको छ ।
सप्तरी १ बाट सम्भावित उम्मेदवारको रुपमा शिवराम यादवको नाम पनि छलफलमा रहेको प्रचण्ड नेतृत्वको नेकपाका एक नेताले बताए ।
युवा नेता यादवले पार्टीले टिकट दिए आफू आउँदो निर्वाचनमा उम्मेदवार बन्नबाट पछि नहटने बताउनुभयो ।
आउँदो फागुन २१ गतेको निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्ष चुनाव लड्ने उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
बि.स. २०३५/३६ को विद्यार्थी आन्दोलनबाट प्रभावित भएर स्कुले जीवनबाट राजनीति सुरु गर्नुभएको यादव बि.सं २०४३ सालदेखि तत्कालीन नेकपा मालेको अनेरास्ववियुबाट सक्रिय राजनीति सुरु गर्नुभयो ।
बि.सं २०४६ सालको राजनीतिक परिवर्तनपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुमा सक्रिय रहेर पाटन संयुक्त क्याम्पसको स्ववियु सदस्य, त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्ववियु सहसचिव र उपसभापति पदमा निर्वाचित हुनुभएको थियो ।
भारतसँग गरिएको महाकाली सन्धीको विवादमा नेकपा एमाले विभाजित हुँदा ययादव नेकपा मालेतिर लाग्नुभएको थियो ।
बि.स. २०५८ सालदेखि नेकपा माओवादीमा आबद्ध भएर जनयुद्धमा होमिनुभएका यादव जेल जीवन पनि बिताउनुभएको छ । उहाँ पहिलो संविधानसभामा तत्कालीन माओवादी पार्टीको तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो ।
माओवादीमा रहदा उहाँले ‘गर्व से कहु हम मधेशी छी, विदेशी भगौडा नइ धर्ती पुत्र छी’ भन्ने नाराको रचना गर्नुभएको थियो । यसका साथै काठमाडौं उपत्यकाका भित्ताहरुमा त्यो नारा लेखाउन उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
‘पहाडेलाई मात्र नेपाली चिनाउने मण्डले राष्ट्रवाद मुर्दावाद भन्ने नाराका रचनाकार पनि यादव हुनुहुन्छ ।
उहाँ लामो समयसम्म तत्कालीन नेकपा माओवादीको राष्ट्रिय मोर्चा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका उपत्यका संयोजक हुनुहुन्थ्यो ।
मधेशको अधिकार र मधेशी मुक्तिको सवालमा कसैसँग सम्झौता नगरेको बताउने यादव नश्लीय राष्ट्रवादका विरोधी र सच्चा, समावेशी एवं प्रगतिशील राष्ट्रवादका समर्थक हुनुहुन्छ ।
विज्ञान विषयमा बीएसी र अर्थशास्त्रमा एमए गर्नुभएका यादव आज पनि माक्र्सवादी र अम्बेडकरवादी विचारधाराका अनुयायी हुनुहुन्छ ।



