खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहक महानुभावहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार “आयकर ऐन, २०५८” बमोजिम ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व विभागद्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न प्यान अनिवार्य रहेको छ।
बैंकले ग्राहकलाई आफ्नो खातामा प्यान अद्यावधिक गर्न बैंकको आधिकारिक पोर्टल update.nicasiabank.com वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा रहेको “PAN Update” विकल्प प्रयोग गर्न आग्रह गरेको छ। साथै, ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यालयमा उपस्थित भई आवेदनमार्फत पनि प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको बैंक सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले बताए ।
निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिएको कर विवरणलाई IRD को प्रणाली (e-TDS) मा समावेश गर्न प्यान अत्यावश्यक हुने बैंकको भनाइ छ। प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण स्वतः अनुसूची–१० मा समायोजन हुने हुँदा करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। यसबाट प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको छ। तर, प्यान अद्यावधिक नगरिएकै कारण ब्याज कर दाखिला नभएमा वा पछि समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने स्पष्ट गरिएको छ।
यसैगरी, बैंकले ग्राहकलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले बैंकको भिडियो केवाईसी पोर्टल वा मोबाइल बैंकिङ एपको “My Profile” मा गई “Change Email” विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट पनि यससम्बन्धी सेवा लिन सकिने व्यवस्था छ।
यसअघि प्यान वा ईमेल उपलब्ध गराए पनि विवरण अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।



