बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
सिलिगुडी, भारत । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।
अवार्डले पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन पहिचान सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले निरन्तर गर्दै आएको प्रवर्द्धनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बोर्डले जनाएको छ । पूर्वी हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (ईएचटिटिओए) द्वारा आयोजित बीटीएम पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मञ्च मानिन्छ, जहाँ भारत, नेपाल,भुटान र बंगलादेशका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला सहभागी थिए ।
बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डसँगै नेपालका ट्राभल ट्रेड कम्पनीहरू तथा कोशी र मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । तीनदिने कार्यक्रमका क्रममा नेपालका प्रदर्शकहरूले पश्चिम बंगाल लक्षित विशेष पर्यटन प्याकेज, सेवा र गतिविधिहरू प्रस्तुत गर्दै भारतीय र भुटानी खरिदकर्तासँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पाएका हुन् । नेपाल स्टलमार्फत कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिइएको थियो भने ट्राभलर्स इन्फर्मेसन, नक्सा, पोस्टर र स्मरणिकासहितका प्रचार सामग्री वितरण गरिएको थियो ।
नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्गविक्रम शाह तथा सहयोगी कर्मचारी सुरेन्द्र सिंह लामा सहभागी थिए । मार्ट सुरु हुनुअघि जनवरी ७ मा सिलिगुडी जर्नालिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक लामिछानेले स्थानीय सञ्चारमाध्यमलाई नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको औपचारिक उद्घाटनका अवसरमा बोल्दै वरिष्ठ निर्देशक लामिछानेले नेपालका विविध पर्यटन उत्पादनबारे प्रकाश पार्नुका साथै ‘भिजिट कोशी वर्ष–२०८२’ र ‘भिजिट मधेश–२०८३’ को सन्दर्भ उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
जनवरी १० को साँझ ‘नेपाल नाइट सांस्कृतिक कार्यक्रम’ आयोजना गरी भारतीय पर्यटकहरूका लागि नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो । कार्यक्रममा वरिष्ठ निर्देशक लामिछानेले स्वागत मन्तव्य दिँदै आगामी बिदामा नेपाल भ्रमण गर्न आग्रह गरे भने वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगालसँग जोडिने सीमावर्ती क्षेत्र, कोशी र मधेश प्रदेशसहित नेपालका प्रमुख आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।



