७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी कम्पनीहरूले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।
आजसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीहरूले मात्र ती कम्पनीहरूको साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् ।
नागरिक लगानी कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कोषको साधारणसभा पुस ३० गते हुने तय भएको छ ।
प्राइम कमर्शियल बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको साधारणसभा पनि पुस ३० गते आयोजना हुँदैछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसको साधारणसभा पनि पुस २९ गते हुनेछ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा पुस २९ गते तय गरिएको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाको साधारणसभा पुस ३० गते हुने छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस सेयर र ४.४२१० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा पुस २९ गते बोलाइएको छ ।
पुस २१ गते बुक क्लोज हुने भएकाले आज पुस २० गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्रै यी कम्पनीहरूको लाभांश प्राप्त गर्नेछन् ।


