पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको ५० वर्षको यात्रा उत्सवका साथ पाटा नेपाल च्याप्टरको स्वर्ण जयन्ती सम्पन्न
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टरले सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पर्यटन प्रवर्धन र विकासमा स्थापनाकाल देखि निरन्तर आबद्धताको ५० वर्षको यात्राको उपलक्ष्यमा एक भब्य उत्सवका साथ् २९ डिसेम्बर २०२५ का दिन रोयल ट्युलिप काठमाडौंमा विशेष समारोह आयोजना सहित स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ।
सन् १९७५ मा स्थापना भएको पाटा नेपाल च्याप्टरको पाँच दशक लामो नेतृत्व, सहकार्य र प्रभावको समीक्षा तथा स्मरण गर्ने उद्देश्यले आयोजित उक्त ऐतिहासिक कार्यक्रममा वरिष्ठ सरकारी अधिकारीहरू, पर्यटन क्षेत्रका नेतृत्वकर्ता, पूर्व अध्यक्षहरू, निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरू, अन्तर्राष्ट्रिय साझेदारहरू, पाटा सदस्यहरु तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिल कुमार सिन्हाले कार्यक्रम उद्घाटन गर्दै पाटा नेपाल च्याप्टरले पर्यटन योजना, नीति पैरवी, पर्यटन प्रवर्द्धन, मानव स्रोत विकास तथा पर्यटन पुनरुत्थानका पहलहरूमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो।
पाटा अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (CEO) श्री नूर अहमद हमीदको भिडियो सन्देशमार्फत पाटा नेपाल च्याप्टरलाई बधाई तथा विश्वव्यापी पाटा सञ्जालभित्र यसले पुर्याएको अनुकरणीय योगदानप्रति प्रशंसा व्यक्त गरिएको थियो। समारोहको सुरुआत सुरसुधाको स्वागत संगीतबाट भएको थियो भने त्यसपछि पाटा नेपाल च्याप्टरका यंग टुरिजम प्रोफेसनल्स (YTPs) द्वारा प्रस्तुत सांस्कृतिक नृत्यले नेपालको समृद्ध सांस्कृतिक विरासत र भावी पर्यटन नेतृत्वकर्ताहरूको ऊर्जाशीलता झल्काएको थियो।
उपस्थित अतिथिहरूलाई स्वागत गर्दै पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री खेम लकाईले संस्थापक अध्यक्षदेखि हालसम्मका सबै पूर्व तथा वर्तमान नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै, च्याप्टरको ५० वर्षे यात्रामा निरन्तर विश्वास र सहकार्य प्रदान गर्ने सदस्य तथा साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा “पाटा नेपाल च्याप्टरको सार्वजनिक–निजी साझेदारीको ५० वर्षे यात्रा” शीर्षकको विशेष स्मारक भिडियो प्रदर्शन गरिएको थियो, जसमा सन् १९७५ देखि हालसम्म च्याप्टरले हासिल गरेका प्रमुख उपलब्धि तथा योगदानलाई उजागर गरिएको थियो।
समारोहमा पाटा नेपाल च्याप्टरका सल्लाहकार सम्माननीय दिपेन्द्र पुरुष ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्द प्रसाद निरौला, पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष श्री प्रवीण पाण्डे तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपकराज जोशीले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले विगत ५० वर्षमा दिगो तथा जिम्मेवार पर्यटन प्रवर्द्धन र नेपालको पर्यटन क्षेत्र सुदृढीकरणमा पाटा नेपाल च्याप्टरले खेलेको अतुलनीय भूमिका तथा योगदानको उच्च प्रशंसा गर्दै आगामी ५० वर्षका लागि शुभकामना व्यक्त गर्नुभयो।
स्वर्ण जयन्तीको अवसरमा पाटा नेपाल च्याप्टर ले प्रदानगर्ने वार्षिक पुरस्कारहरु अन्तर्गत नेपालमा पर्यटन, दिगोपन, संरक्षण तथा आतिथ्य क्षेत्रमा जीवनभर योगदान पुर्याउनुभएका श्री कर्ण शाक्य लाई “लाइफटाइम एचिभमेन्ट अवार्ड”, समुदायमा आधारित तथा दिगो पर्यटनको नेतृत्वका लागि श्री शिव ढकाल लाई “टुरिजम ट्रेल ब्लेजर अवार्ड”, नेपालको पर्यटन उद्योग र पाटा नेपाल च्याप्टरमा निरन्तर योगदानका लागि कोरा टुर्सका सिईओ श्री विजय अमात्य लाई “टुरिजम पर्सनालिटी अफ द इयर” र नेपालमा र्याफ्टिङ, साहसिक तथा सांस्कृतिक पर्यटनको विकासमा अग्रणी भूमिकाका लागि श्री एन्थोनी लिन्डसे जोन्सलाई “विशेष योगदान पुरस्कार” द्वारा सम्मानित गरिएको छ।
यस अवसरमा पाटा नेपाल च्याप्टरसँग दीर्घकालदेखि सहकार्य गर्दै आएका साझेदार संस्थाहरू, पर्यटन संघ–संस्थाहरू, शैक्षिक प्रतिष्ठानहरू तथा प्रमुख व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
स्वर्ण जयन्ती समारोहले पाटा नेपाल च्याप्टरको दिगो, समावेशी तथा लचिलो पर्यटन विकासप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, साझेदारी, नेतृत्व र नेपालको पर्यटन भविष्यप्रतिको साझा दृष्टिकोणसहित पाँच दशकको यात्रालाई उत्सवका रूपमा मनाएको छ।


