मिटरव्याजको आडमा गजेन्द्र मास्केको आर्थिक आतंक: थप अपराधको खुलासा
काठमाडौं। छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। यो धन्दाले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ।
काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर प्रहरी कार्यालय धाउने गरेका छन्। मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ र परिवारमा विलाप मात्र निम्त्याएको छैन,सम्पूर्ण सामाजिक संरचनामा नै आघात पुर्याइरहेको छ।
कतिपयले एक करोडदेखि चार करोडसम्मको रकम डुबाएर भागेको पीडितहरूले बताएका छन् भने लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन बनेका छन्।
संघीय राजधानी काठमाडौंको मुटुमा रहेको नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका गजेन्द्र मास्के उर्फ मिटरव्याजीको नाम अहिले काठमाडौंभरि चर्चामा छ। विभिन्न समाचार माध्यममा मास्केको धन्दाबारे खुलासा भएपछि पीडितहरू भटाभट सम्पर्कमा आउन थालेका छन्। काठमाडौं उपत्यकामा विरेन्द्र लाल श्रेष्ठपछिको मिटर ब्याजका किङ भनेर चिनिने मास्केको धन्दा गर्ने तरिका नौलो र खतरनाक रहेको खुलेको छ।
नागर्जुन नगरपालिका ६ मा गाईफार्म सञ्चालन गर्दै आएका कुमार लामिछानेबाट ७५ लाखको ५ करोड असुलेको खुलासापछि मास्केको अनुचित लेनदेनको नाङ्गो नाच बाहिरिन थालेको छ। मास्केले लगानी गर्दा धितो बापत हस्ताक्षर गरेको चेक लिनुका साथै तमसुक गराउँदै लाखको दशहजारको दरले व्याज पहिल्यै कटाउने गरेको पाइएको छ। त्यसपछि रकम असुली हुँदा प्रहरीकै सेटिङमा चेक बाउन्स गरी मुद्दा चलाउने गरेको पीडितहरूले बताएका छन्।
चामल व्यापारीसँगको मिलेमतो
त्यस्तै मास्केले नागर्जुनका चामल व्यापारी ताहिर हुसेनलाई २५ लाख लगानी गरी ५ करोड असुली गरेको खुलेको छ। तर चामल व्यापारी हुसेन र मास्के मिली खाद्यमा कालोबजारी गर्दै करोडौं रुपैयाँ आर्जन गरेका कारण हुसेनले मास्के बिरुद्ध बोल्न डराएको हुसेन निकट स्राेतले बताएको छ। त्यसपछि धितो स्वरूप हस्ताक्षर गरी दिएको चेकमा आफूखुशी रकम भरी उनी लगायत परिवारको नाममा रहेको १६ रोपनी जग्गा रोक्का राख्ने सर्तसम्म आइपुगेको छ।
गहना व्यापारीकाे पनि हरिबिजाेग
यसैगरी काठमाडौंस्थित न्युरोडका गहना व्यापारी सुरेश सराफलाई १२ लाख रुपैयाँ लगानी गरी ६ महिना भित्रै ३० लाख असुली गरेपछि धितो स्वरूप हस्ताक्षर गरेर दिएको चेकमा ३६ लाख रुपैयाँ भरी मुद्दा चलाएको पाइएको छ। त्यो मात्र होइन, सोही १२ लाख रुपैयाँ लगानी गरेबापत १४ केजी चाँदी धितो स्वरूप लगेकोमा फिर्ता नगरी पचाएको सराफले गुनासो गरेका छन्।
मिटरव्याजीका नाइके गजेन्द्र मास्केका कारण म व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको सराफ बताउँछन्। उनले भने, मैले व्यापार बढाउन १२ लाख रुपैयाँ लिएको थिएँ, ६ महिना भित्र ३० लाख तिरेँ अनि धितो स्वरूप दिएको चेक फिर्ता दिन्छु भन्थे। पछि बाउन्स गरी ३६ लाख रुपैयाँ रकम भरी मुद्दा चलाएको रहेछन्। तपाईं सञ्चारकर्मीहरूलाई बल्ल थाहा भयो यो त फिल्मी स्टाइलको ठग हो। सुरेशले यसको चारवटा बैंक अकाउन्ट रहेको र सम्बन्धित निकायले छानबिन गर्दा प्रष्ट हुने बताएका छन्।
यसैगरी काठमाडौं न्युरोडका व्यापारी शंकर विश्वकर्माले हिजो सोमबार सम्पर्क गर्दै आफ्नो भाई दिपक विश्वकर्मालाई मास्केले फसाएको बताएका छन्। शंकरका भाई दिपकले मास्केसँग घरायसी प्रयोजनका लागि १५ लाख रुपैयाँ लिएकोमा मास्केले चेक बाउन्स गर्दै घर रोक्का राखेपछि घरै विक्री गरी २ करोड बुझाएर हाल विदेश पलायन भएको गुनासो गरेका छन्।
यतिमात्र नभई मिटरव्याजका नाइके गजेन्द्र मास्केले गत साल चेक बाउन्सको नाममा सुत्केरी महिलालाई समेत थुनाएको खुलासा भएको छ। काठमाडौंको रञ्जना गल्लीमा कपडाको होलसेल पसल गर्दै आएका गोरखा जिल्लाका सन्तोष अधिकारीको डेढ महिनाको सुत्केरी श्रीमतीलाई टेकु प्रहरीमा सेटिङ मिलाउँदै २४ दिन थुनाएको स्राेतले बताएको छ। हाल व्यापारी केदार अर्याल व्यवसायबाट पलायन हुँदै विदेश भासिएका बुझिएको छ।
यसैगरी मिटरव्याजी मास्केबाट घरनघाटका भई सम्पर्कमा आएकाहरूले अब चाँडै प्रहरीमा उजुरी हाल्ने तयारी गरेको बताएका छन्। मिटर व्याजी मास्केबाट पीडित शंकर विश्वकर्मा भन्छन्, अब केहीदिनमै उजुरी हाल्ने तयारी गर्दैछौँ।
यता गजेन्द्र मास्केले गरेका आर्थिक अपराध विभिन्न समाचार माध्यमबाट छताछुल्ल भएपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो -(सिआइबी)ले सूक्ष्म अनुसन्धान गरिरहेको सिआइबी स्राेतले जनाएको छ। यसैगरी अपराध महाशाखा टेकुले पनि मास्केको आर्थिक अपराध सम्बन्धी गतिविधिबारे निगरानी बढाएकाे स्राेतले बताएको छ।
कानुनमा के भनिएको छ
कानुनमा अनुचित लेनदेनअन्तर्गत धेरै किसिमका कारबाही समावेश गरिएका छन्। लेनदेन नभएको वा नगरेको रकम लिएको भनी झुट्टा लिखत तयार पार्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा धेरै बढी रकमको लिखत तयार गरी ऋणीलाई जालमा फसाउने, लेनदेन गर्दाकै बखतमा ब्याज रकम समेत सावामा जोडी लिखत तयार पार्ने गरी ऋणीलाई दोहोरो पीडा दिने जस्ता सबै कार्य कानून विपरित मानिएका छन्।
त्यसैगरी ब्याजलाई सावामा जोडेर निरन्तर नयाँ लिखत तयार पारी ऋणको बोझ बढाउँदै जाने, ऋणीले तिरेको वा बुझाएको रकमको भर्पाइ नबनाउने वा लिखत नबनाएर पुनः सोही रकम माग्ने, तोकिएको कानूनभन्दा धेरै बढी ब्याज लिने, ऋणको सावाँभन्दा कैयौं गुणा बढी ब्याज असुल्ने, ऋण असुलीको लागि धम्की दिने वा शारीरिक मानसिक शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने र अनुचित लेनदेनको रकम असुल गर्न ऋणीलाई दासवत् काम गराउने वा निरन्तर हैरानी पार्ने जस्ता सबै कुरा कानून विपरित भएकाले अपराधीलाई यी समावेश गरिएका कानून अनुसार कारबाही हुन्छ।
यस विषयमा मिटरव्याजी गजेन्द्र मास्केलाई सम्पर्क गर्दा उनले घुमाउरो भाषामा मिटरव्याजमा पैसा लगाएको स्वीकार गरे। उनले भने,मैले पचहत्तर लाख रुपैयाँ जग्गामा लगानी गरेको हो, त्यसको फाइदाबापत बढी मागेको हुँ। अब म धेरै बोल्दिन, म वकिल लिएर आउँछु।यो भनाइले स्पष्ट पार्छ कि मास्के आफ्नो अपराधप्रति सचेत छन् र कानुनी जालबाट बच्न तयार छन्।
काठमाडौंको मुटुमा चलिरहेको यो अवैध धन्दा र त्यसमा प्रहरी संरक्षणको आरोप नेपाली समाजको लागि लाजमर्दो विषय बनेको छ। यदि कानून कार्यान्वयन गर्ने निकाय नै अपराधीको साथमा उभिए भने सर्वसाधारण जनता न्याय कहाँबाट पाउने भन्ने प्रश्नको उत्तर खोज्नु अब समयको माग बनेको छ।


