प्रहरीकाे संरक्षणमै मिटरव्याजी साम्राज्य: गजेन्द्र मास्केले कसरी लुटे सयौं परिवार ?
काठमाडौं । संघीय राजधानी काठमाडौंमा रहेको नागर्जुन नगरपालिका वडा नम्बर ६, टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका मिटरव्याजी गजेन्द्र मास्केकाे अवैध धन्दाकाे मुकुण्डाे छताछुल्ल भएको छ। राजधानीका मिटरव्याज किङका रूपमा चिनिने मास्केले दशकौंदेखि चलाएको अवैध धन्दाले सयौं परिवारलाई घरबार विहीन बनाएको छ भने अर्कातिर प्रहरी प्रशासन भने मौन बसेको भन्दै गम्भीर प्रश्न उठेको छ।
राजधानीको मुख्य क्षेत्रमा नै खुलमखुल्ला अनुचित लेनदेन र मिटरव्याज जस्तो संगठित अपराध सञ्चालन गर्दै आएका मास्केलाई केही प्रहरी अधिकारीहरूले नै संरक्षण गरिरहेको आरोप लाग्दा यो विषय अहिले पेचिलो बहसको केन्द्रमा पुगेको छ। शक्ति, सत्ता र प्रहरीको पहुँचमा हिँड्ने मास्केको धन्दा यति विस्तारित छ कि उनको अपराधको संख्या गन्न नसकिने अवस्थामा पुगेकाे छ।
चर्को ब्याजमा रकम उपलब्ध गराउने मास्केको वास्तविक उद्देश्य भने ऋणीको घरजग्गा हड्प्ने नै हो। पैसा चाहिने बेलामा सहयोगको नाममा जालमा फसाएर ऋणीलाई जीवनभर दासत्वमा राख्ने मास्केको कार्यशैली अत्यन्तै क्रूर रहेको छ। लिएको भन्दा दशौंगुणा बढी रकम तिरिसकेपछि पनि ऋणबाट मुक्त हुन नसकेका थुप्रै पीडितको रोदन हेर्दा मुटु चिसो हुन्छ।
आपराधिक लाभ तथा अनुचित लेनदेन गर्दै गुण्डा र असामाजिक तत्वको घेरामा हिँड्ने मास्केको जीवनशैली नै विवादास्पद छ। मास्के निकट स्रोतका अनुसार उनले प्रहरीका केही उच्च अधिकारीहरूको विशेष साथ पाउँदै आएका छन् र अधिकांश समय प्रहरी वृत्त स्वयम्भूमा बिताउने गरेको बताइएको छ। यो खुलासाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
मास्केले नेपाल प्रहरीकै सेटिङ र संरक्षणमा हजारौं परिवारलाई घरबार विहीन बनाएको समाचार यसअघि पटक पटक विभिन्न समाचार माध्यमबाट प्रकाशित भइसकेको छ तर कुनै कारबाही हुन सकेको छैन। काठमाडौंमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्दै दुःख गरेर बाँचिरहेका गरिब परिवारलाई घर न घाटको मात्रै होइन, जीवनभरको सपना समेत खोस्ने मास्केले करिब पन्ध्र जनाभन्दा बढी व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी निरन्तर दुःख दिइरहेको स्रोतले बताएको छ।
दिनदहाडै गुण्डागर्दी गर्दै गरिबको रगत चुसेर आफ्नो साम्राज्य खडा गर्ने मास्केले लुटिएको पैसाले नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित विल्सन स्कूल नजिकै भव्य महल खडा गरेको स्रोतले दाबी गरेको छ। मास्के निकट स्रोतका अनुसार उनका राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी आलिशान महल छन् भने जग्गा, गाडी घडेरी कति छन् त्यो उनी आफैंले पनि कागजात हेरेर मात्र गन्न सक्ने अवस्था छ।
मास्केको अनुचित लेनदेनको जालोमा फसेका थिए नागर्जुनका गाईफार्म सञ्चालक कुमार लामिछाने। आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने दृढ संकल्पका साथ अगाडि बढेका लामिछानेले मास्केसँग पचहत्तर लाख रुपैयाँ ऋण लिएका थिए। तर मिटरव्याजी मास्केले लामिछानेसँग करिब पाँच करोड बराबरको जग्गासहित नगद असुलेको गम्भीर आरोप छ। एकपटक मास्केको जालोमा फसेपछि त्यहाँबाट मुक्त हुनु लगभग असम्भव जस्तै हुन्छ।
यसैगरी मास्केले नागर्जुनका चामल व्यापारी ताहिर हुसेनलाई समेत पीडित बनाएको स्रोतले बताएको छ। यस विषयमा हुसेनसँग सम्पर्क गर्दा मास्केको नाम सुन्नेबित्तिकै डरले थरथर काँम्दै फोन राखिदिएको दृश्यले मास्केले दिएको पीडा कत्तिको गहिरो छ भन्ने प्रष्ट हुन्छ। यसरी हुसेनको अवस्था देख्दा लाग्छ मास्केले दिएका पीडा पोख्न सकिने अवस्था छैन। त्यसैगरी नागर्जुनका व्यवसायी सुरेश सराफलाई सम्पर्क गर्दा फोन नै उठेनन्।
यी घटनाहरूले एउटा सत्य उजागर गर्छन् कि अपराधीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्ने जिम्मेवारी भएका प्रहरी अधिकारीले नै यस्ता अपराधीलाई संरक्षण गरी आफ्नै कार्यालयमा गैरकानुनी कार्य गर्न दिए भने सर्वसाधारणले शान्ति सुरक्षा र जीउधनको रक्षा गर्न खटिएका प्रहरीमाथि कसरी विश्वास गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ। यस्ता केही भ्रष्ट प्रहरीका कारणले अन्य स्वच्छ छवि भएका इमान्दार प्रहरीमाथि पनि प्रश्नचिन्ह खडा भएको छ जुन अत्यन्तै दुःखद् विषय हो।
अनुचित लेदन गर्नेलाई यस्तो हुन्छ कानुनी कार्वाही ?
कानुनमा अनुचित लेनदेनअन्तर्गत धेरै किसिमका कारबाही समावेश गरिएका छन्। १- लेनदेन नभएको वा नगरेको रकम लिएको भनी झुट्टा लिखत तयार पार्ने,२- लेनदेन गरेको वास्तविक रकमभन्दा धेरै बढी रकमको लिखत तयार गरी ऋणीलाई जालमा फसाउने, ३-लेनदेन गर्दाकै बखतमा ब्याज रकम समेत सावामा जोडी लिखत तयार पार्ने गरी ऋणीलाई दोहोरो पीडा दिने,४- ब्याजलाई सावामा जोडेर निरन्तर नयाँ लिखत तयार पारी ऋणको बोझ बढाउँदै जाने,५- ऋणीले तिरेको वा बुझाएको रकमको भर्पाइ नबनाउने वा लिखत नबनाएर पुनः सोही रकम माग्ने,६- तोकिएको कानूनभन्दा धेरै बढी ब्याज लिने,७- ऋणको सावाँभन्दा कैयौं गुणा बढी ब्याज असुल्ने,८- ऋण असुलीको लागि धम्की दिने वा शारीरिक मानसिक शोषण गर्ने,९-अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने र अनुचित लेनदेनको रकम असुल गर्न ऋणीलाई दासवत् काम गराउने वा निरन्तर हैरानी पार्ने जस्ता सबै कुरा कानुन विपरित भएकाले अपराधिलाइ यी समावेश गरिएका कानुन अनुसार कारबाही हुन्छ।
यस समाचारको विषयमा मिटरव्याजी गजेन्द्र मास्केलाई सम्पर्क गर्दा उनले घुमाउरो भाषामा मिटरव्याजमा पैसा लगाएको स्वीकार गरे। उनले भने,मैले पचहत्तर लाख रुपैयाँ जग्गामा लगानी गरेको हो, त्यसको फाइदाबापत बढी मागेको हुँ। अब म धेरै बोल्दिन, म वकिल लिएर आउँछु। यो भनाइले स्पष्ट पार्छ कि मास्के आफ्नो अपराधप्रति सचेत छन् र कानुनी जालबाट बच्न तयार छन्।
काठमाडौंको मुटुमा चलिरहेको यो अवैध धन्दा र त्यसमा प्रहरी संरक्षणको आरोप नेपाली समाजको लागि लाजमर्दो विषय बनेको छ। यदि कानुन कार्यान्वयन गर्ने निकाय नै अपराधीको साथमा उभिए भने सर्वसाधारण जनता न्याय कहाँबाट पाउने भन्ने प्रश्नको उत्तर खोज्नु अब समयको माग बनेको छ।


